दंगीशरण गाउँपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ पालिकाको रूपमा घोषणा
दंगीशरण, जेठ २५
दंगीशरण गाउँपालिकालाई आइतवार औपचारिक रुपमा ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न कार्यक्रम वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाभित्रका सबै वडालाई पूर्णखोप वडा प्रमाणपत्र प्रदान गर्दै जिल्लाको सातौं पालिका रूपमा दंगीशरणलाई घोषणा गरिएको हो।
यसअघि गढवा गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा समावेश भइसकेका थिए।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता भएको बताउँदै भने,
“नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापना गरिसकेको छ। त्यसैले सम्पूर्ण बालबालिकालाई खोप लगाउनु राज्यकै दायित्व हो।”
घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष पिमा वली खड्काले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानलाई विशेष धन्यवाद दिँदै भनिन्,
“स्वास्थ्यकर्मीहरूको त भूमिका छँदैछ, तर यो अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको समर्पण नै मूलचाबी हो।”
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरीले पनि बालबालिकाको नैसर्गिक अधिकारलाई कार्यान्वयनमा लैजान सबै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकाहरू निरन्तर खटिरहने प्रतिबद्धता जनाए।
स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्वास्थ्य शाखाकी सहायक राधा शर्माले कार्यक्रमको स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीले गरेका थिए।
कार्यक्रममा खोपकर्ता, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसमेत गरिएको थियो।





