दंगीशरण ६ मा पन्चेवाजा र ब्युटिसियन तालिम सम्पन्न
तुलसीपुर, १२ असार । दाङको दंगीशरण गाउँपालिका–६ मा पञ्चेबाजा र ब्युटिसीयन तालिमको एकैदिन समापन गरिएको छ । ५ दिने पञ्चेबाजा तालिम र १ महिने ब्युटिसीयन तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष रोशनजंग शाहले धेरै अगाडी देखी तालिम सञ्चालन गर्ने योजना रहेपनि विविध कारणले गर्दा ढिला हुन गएको बताउनुभयो । चालु आर्थीक बर्षको अन्तिममा भएकाले पनि तालिमको समयावधि छोटो हुन गएको उहाँले बताउनुभयो । यत्ती तालिमले मात्रै पर्याप्त नहुने भन्दै वडाअध्यक्ष शाहले फेरी पनि आगामी दिनमा एडभान्स तालिमको व्यवस्था गर्ने बताउनुभयो । कार्यक्रमको प्रमुख अथिति समेत रहेका वडाअध्यक्ष शाहले आफ्नो पहलमा प्रदेश सरकारबाट विशेष अनुदानमार्फत प्राप्त भएको बजेटमार्फत वडाका नागरिकलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गरिरहेको बताउनुभयो । यो तालिमबाट वडाका महिलाहरुले ब्युटिसियन सम्बन्धि सामान्य कुराहरु सिकिसकेको भन्दै अब थप तालिम दिएर उनीहरुलाई आफै स्वरोजगार बन्ने अवस्था सृजना गर्ने वडाअध्यक्ष शाहको भनाई छ । पञ्चेबाजा बजाउनतर्फ नयाँ पुस्तालाई आकर्षीत गर्ने उदेश्यले पञ्चेबाजा सम्बन्धि पनि तालिम दिइएको उहाँको भनाई छ ।
गत जेठ १५ गतेबाट सुरु भएको ब्युटिसीयनसम्बन्धि तालिम र यही असार ८ गतेबाट सुरु भएको पञ्चेबाजा सम्बन्धि तालिमको आज एकसाथ समापन गरिएको हो । वडाबाट निसुल्क रुपमा तालिम प्राप्त गरेपछी स्थानियहरुले खुसी व्यक्त गरेका छन् । आगामी दिनमा थप तालिमको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । पञ्चेबाजा सम्बन्धि ५ दिने तालिम शुभ जनज्योती प्राविधिक शिक्षालय तुलसीपुर–७ को आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थीक सहयोगमा सम्पन्न भएको हो भने ब्युटिसीयन सम्बन्धि १ महिने तालिम स्वर्गद्धारी युवा रोजगार मञ्चको आयोजना तथा वडा नम्बर ६ को आर्थीक सहयोगमा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै स्वर्गद्धारी युवा रोजगार मञ्चकी सदस्य लक्ष्मी बस्नेतले तालिमले एउटा विषयमा मात्रै जानकारी नदिएर समग्र व्यक्तित्व विकासमा समेत टेवा पुगेको बताउनुभयो । पछिल्लो समय शहरी क्षेत्रमा मात्रै नभएर ग्रामिण भेगका नागरिकमा समेत सौन्दरीकरणमा रुची बढ्दै गएको उहाँले बताउनुभयो । सिप सिक्नु मात्रै ठुलो कुरा नभएको भन्दै उहाँले यसलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको बताउनुभयो । वडा सदस्य कान्छुराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण शुभ जनज्योती प्राविधिक शिक्षालयका सञ्चालक जिवराज अधिकारीले गर्नुभएको थियो ।।