दंगीशरणमा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण
दंगीशरण, जेठ १ — दंगीशरण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत खाद्यान्न बालीको बीउ वितरण कार्यक्रममार्फत किसानहरूलाई विभिन्न जातका धानको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पीमा ओली खड्का, प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली तथा वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरीलगायतको उपस्थितिमा बीउ वितरण गरिएको थियो।
गाउँपालिकाले हर्दिनाथ–५, रामधान, सावा मनसुली, हर्दिनाथ–६ र चैते–५ जातका धानको बीउ किसानहरूलाई उपलब्ध गराएको जनाएको छ।
कृषि उत्पादन वृद्धि तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
