स्वर्गीय जगदीश नेपाली र आशा नेपालीको स्मृतिमा छात्रवृत्ति वितरण
दंगीशरण, बैशाख २६ — स्वर्गीय जगदीश नेपाली तथा उहाँकी आमा आशा नेपालीको स्मृतिमा स्थापना गरिएको अक्षकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।
स्वर्गीय जगदीश नेपालीकी धर्मपत्नी सितारा नेपालीले आफ्ना स्वर्गीय श्रीमान् र सासूको सम्झनामा स्थापना गर्नुभएको अक्षकोषबाट सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय, श्रीगाउँका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
अक्षकोष संस्थापक सितारा नेपालीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
१ लाख ५ हजार रुपैयाँको अक्षकोषबाट प्राप्त ब्याज रकममार्फत ७ जना छात्र–छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले यस्ता अक्षकोषले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, अक्षकोष स्थापनाकर्ता सितारा नेपालिले विद्यार्थीहरूको अध्ययन र सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षकोष स्थापना गरिएको बताउनुभयो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख विनोद अधिकारीले अक्षकोषले विद्यार्थी तथा अभिभावक समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपन्न बालबालिकामा उत्साह थप्ने धारणा राख्नुभयो।
छात्रवृत्ति वितरण कार्यक्रममा नरेश नेपाली, विद्यालयका प्रधानाध्यापक नोखबहादुर गोसाईँ लगायतले स्वर्गीय जगदीश नेपालीले समाजमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो।
